मगर संघ पोर्चुगलको आयोजनामा भुम्या (बल) पुजा हुँदै

पोर्चुगलमा लामो समयदेखि स्थापित एवं सक्रिय सस्था मगर संघ पोर्चुगल लगायत का सस्थाहरुको आयोजनामा भुम्या (बल) पुजा हुने भएको छ।मगर समुदायको विशेष पर्वको रुपमा चिनिने यो पर्वको आफ्नै महिमा र महत्व छ।

पुर्खाहरुदेखिनै चल्दै आएको यो पर्वमा सम्पूर्ण मगर समुदायका मानिसहरू एकीकृत भएर एकै ठाउँमा पुजा गर्ने गर्छन्।एकता,सद्भाव ,रहनसहनलाई साटासाट गर्दै खुशीयाली मनाउने पनि गरिन्छ।


खेतीपाती गर्दा कीरा-फट्यांग्रा मरेका हुन्छन, खेतीयोग्य जमिनको नाश भएको हुन्छ,हल बल्लो (गोरु)लाई दुख दिइएको हुन्छ, बल्लोको काँधमा घाँउ हुन सक्छ , सबै कर्मबाट भएका गल्तीप्रति क्षमा माग्दै खेतीपाती राम्रो होस् भन्ने कामना गरिन्छ।

बर्षे बालीनालीमा कीरा फटयांग्रा नलागुन, बाढी-पहिरोले नोक्सान नपुर्‍याओस् भनेर भूमि, वन-जंगल, सूर्य, चन्द्रको पूजा गर्ने चलन छ। असार १ गते सुरु हुने भूमे पर्व विगतका दिनहरूमा पहाडी जिल्ला विशेष गरि रुकुम,रोल्पा र बाग्लुङमा एक महिनासम्म मनाउने चलन थियो। अहिले बिस्तारै मनाउने दिन घट्दै गएको छ। पूर्खाहरुले मनाइँदै आएको पर्व मगर समुदायले सहायक पर्वको रुपमा मानाइन्छ।

पूर्खाहरुले जंगल खनेर खेतीपाती गर्न थालेपछि यो पर्व मनाउन थालिएको हो।यस पर्वलाई गाउँ व्यवस्थाको प्रचलन अनुसार वर्षभरिको आय-व्यय प्रस्तुत गरि नयाँ पदाधिकारी छनौट र नयाँ घरधुरी कायमको वैधानिकता दिने विशेष दिनको रुपमा पनि लिइन्छ ।

भूम्या पूजाको अवसरमा बोका, हाँस, कुखुरा, सुँगुँरको बल बनाई तानिन्छ । जसमा अनौठो कुरा के छ भने नि बर्ष भरी भन्साको भारमा जम्मा भएको धैसोलाई सबै घरका घरमुलीहरुले बल तान्ने मान्छेहरु हिडेको बाटोमा फाल्दै जाने चलन छ । यसो गर्दा अनिकाल र अनिष्ट हुनबाट भूमे देवताले बचाउछन भन्ने बिश्वास रहिआएको पाइन्छ। उक्त बललाई खेत बारीको थानमा लगी बली दिइन्छ । बारीमा दिइएको बलीलाई गाउँमा जति घरधुरी छन् त्यति भाग लगाइन्छ ।

यदि कोही व्यक्ति (दाजु भाई) अंशबण्डा भई छुट्टिएमा सोही दिन उसको नाममा भाग लाग्छ । बल पूजाको प्रसाद भाग पाएपछि उसले वैधानिक रुपमा छुट्टै घरधुरीको मान्यता पाउँछ ।

भूमे पर्वको अवसर पारेर एक वर्ष पुराना परम्परागत गाउँले समितिहरुलाई भंग पुनर्गठन गरिन्छ । जस्तै खरदरी समिति, वन समिति आदिका पदाधिकारीहरु चयन गरि बैधानिक दिने प्रचलन छ। जस्तै मुख्या, बैदार, तहबिल, कटुवाल र मिजार एक वर्षका लागि मनोनयन गर्दै हरेक वर्ष खरदरी लगायत अन्य समितिहरुको विघटन र पुनर्गठन गर्ने गरिन्छ।

भूमे पर्वमा मगर समुदायका सबै मानिस तालमा ताल मिलाएर नाच्छने गर्दछन। वर्षभरि अन्य पहिरन लगाउने मानिसहरूले पनि यो पर्वमा मगर समुदायको पहिचान बोकेको पटुकी, फेटा लगाउँने गर्दछन।

मगर समुदायका महिला, पुरूष तथा बालबालिहरुले आफ्नो परम्परागत भेषभूषामा सजिन्छन ।महिलाहरु लुङ्गी, चोली, गादा, धरो, पछ्यौरी, खुडाप र व्हाफा तथा गरगहनाहरु मारुली, तिलहरी, बुँलाकी, खोकड, नागी, मुन्द्री, फुली, टिकुली र चुरापोतेमा सजिन्छन भने परुषहरु भाँग्रा, चौबन्दी, पगरी, छड्के, र पटुका तथा गहनाहरु विरजुली, मुन्द्रा र टोपीमा चिटिक्क सजिएका हुन्छन् ।

प्रवासमा कला संस्कृतिको उजागर गर्ने,संक्षरण गर्ने र पुस्तातरण गर्ने उद्देशयले यो पुजाको आयोजना गरिएको सस्थाका अध्यक्ष कमल पुनले संक्षीप्त कुराकानीका क्रममा बताए।

पुजा बिहान ११ बजेदेखि सुरु हुनेछ भने औपचारिक कार्यक्रम पोर्चुगलको चर्चित पार्क बेलाबिस्ता पार्कमा आज दिउसो ४ बजेदेखि सुरु हुने सस्थाले एक सूचना मार्फत जानकारी दिएको छ।पोर्चुगलमा रहेका क्रीयासिल संघ -सस्थालाई पत्र पठाइसकेको र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानेर उपस्थित हुन सस्थाले विशेष अनुरोध समेत गरेको छ।

Share
Scroll to Top