चितवन समाज पोर्चुगलको आयोजनामा हुन लागेको एक भव्य तीज विशेष सांस्कृतिक कार्यक्रमले पोर्चुगलको नेपाली समुदायमाझ उत्साहको लहर ल्याएको छ।सो कार्यक्रम आगामी अगस्ट १८ तारिख, सोमबारका दिन लिस्बनको मुटुमा अवस्थित जिनासियो क्लव हलमा आयोजना हुने छ।
समाजका अध्यक्ष शिव ओझाले तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। “हामी परदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई घर-आँगनकै तीजको अनुभूति गराउन चाहन्छौं । यसका लागि हाम्रो सम्पूर्ण टिम दिनरात नभनी खटिरहेको छ,” संस्थाका ऊर्जावान अध्यक्ष ओझाले बताए । उनका अनुसार, कार्यक्रमलाई सभ्य, भव्य र अविस्मरणीय बनाउन कुनै कसर बाँकी राखिने छैन।
कार्यक्रमको मुख्य आकर्षणको केन्द्रमा रहनेछन् नेपालका चर्चित लोक तथा दोहोरी गायक, प्रत्यक्ष दोहोरीका बादशाह रविन लामिछाने । आफ्ना जीवन्त र मनछुने गीतहरू मार्फत लाखौं नेपालीको मनमा बस्न सफल गायक लामिछानेको उपस्थितिले कार्यक्रम थप रौनक बन्ने निश्चित छ ।
उनलाई साथ दिन पोर्चुगलमै रहेर नेपाली संगीतमा सक्रिय सुमधुर स्वरकी धनी चर्चित गायिका गीता रेउले र कला पंगिनी लगायत अन्य स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुति रहनेछ । त्यस्तै साथमा स्थानीय गायक सनम विश्वकर्माको पनि प्रस्तुति रहने भएको छ । 
राष्ट्रिय र स्थानीय कलाकारहरूको यो संगमले कार्यक्रमलाई थप सुनमा सुगन्ध थप्नेछ। कार्यक्रम अगस्ट १८ तारिखका दिन ३ बजेदेखि राति ११ बजेसम्म निरन्तर सञ्चालन हुनेछ, जसले गर्दा सबैले आफ्नो अनुकूल समयमा उपस्थित हुन सक्नेछन्।
