युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री यर्माकका घर तथा कार्यालयमा भ्रष्टाचारविरोधी एकाइहरूले छापा मारेको छ । रूसको आक्रमण रोक्ने प्रयास र अमेरिकी सहयोग सुनिश्चित गर्ने प्रक्रियाबीच उत्पन्न भएको यो घटना किएभका अधिकारीहरूका लागि एक अवाञ्छित चुनौतीका रूपमा देखिएको छ ।
युक्रेनमा भ्रष्टाचारविरुद्ध कार्यरत दुई प्रमुख राष्ट्रिय संस्थाहरू राष्ट्रिय भ्रष्टाचार विरोधी ब्युरो र विशेष भ्रष्टाचार विरोधी अभियोजकको कार्यालयले यर्माकको कार्यालयमा खोजतलास गरेको पुष्टि गरेका छन् । यर्माक स्वयंले पनि आफ्नै अपार्टमेन्टमा अनुसन्धानकर्ताहरू आएको स्वीकार गर्दै टेलिग्राममार्फत ‘अनुसन्धानकर्ताहरूले कुनै बाधा पाएका छैनन्, मैले पूर्ण सहयोग गरिरहेको छु र मेरा कानूनी प्रतिनिधिहरू उपस्थित छन्’ भने ।
यी दुवै निकाय युक्रेनी उच्च अधिकारीहरू संलग्न रहेको करिब १० करोड अमेरिकी डलर बराबरको ऊर्जा क्षेत्र सम्बन्धी कथित ठूलो भ्रष्टाचार प्रकरणको मुख्य अनुसन्धानकर्ता हुन् । यर्माकका दुई पूर्व सहकर्मी ओलेह टाटारोभ र रोस्टिस्लाभ सुर्मा विभिन्न वित्तीय आरोपका कारण सन् २०२४ मै पदबाट बाहिरिनु परेको थियो । अर्का सहायक एन्ड्री स्मिर्नोभमाथि पनि घुस तथा अन्य अनियमिततासम्बन्धी अनुसन्धान भएको थियो, यद्यपि उनी अहिले पनि यर्माकका लागि काम गरिरहेका छन् ।
युक्रेनले युद्धकालीन आवश्यकताका कारण पश्चिमी मुलुकहरूसँग थप सहायता मागिरहेका बेला उत्पन्न यस काण्डले राष्ट्रपति जेलेन्स्कीमाथि अतिरिक्त राजनीतिक दबाब सिर्जना गरेको छ । युरोपेली सङ्घ (इयु) मा समावेशीकरण प्रक्रिया अघि बढाउन पनि भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नुपर्ने भन्दै इयुले जेलेन्स्कीलाई निरन्तर आह्वान गर्दै आएको छ ।
ऊर्जा क्षेत्रसम्बन्धी अनुसन्धान सार्वजनिक भएपछि यसै महिनाको सुरुआतमा जेलेन्स्कीले आफ्नै दलभित्रबाट अभूतपूर्व प्रतिरोध सामना गर्नुपरेको थियो । यर्माकमाथि प्रत्यक्ष कुनै गलत कार्य गरेको आरोप पुष्टि नभए पनि जेलेन्स्की दलका वरिष्ठ सांसदहरूले जनविश्वास पुनर्निर्माण गर्न उनले नै जिम्मेवारी लिनुपर्ने अभिव्यक्ति दिएका छन्।
स्रोत:रासस
