अस्तित्व मेटाउने गरी एकता हुँदैन :कुलमान घिसिङ

ऊर्जामन्त्री कुलमान घिसिङले एकताको अर्थ कसैलाई समाप्त पार्नु नभएको बताएका छन्।

शनिबार उज्यालो नेपाल पार्टीको नुवाकोट-काठमाडौं सम्पर्क मञ्चले काठमाडौंको बौद्धमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिसिङले सबैको अस्तित्व स्वीकार गर्दा साँचो एकता हुने बताएका हुन्।

‘एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन,’ उनले भने, ‘सबैको अस्तित्व स्वीकार गर्दै, सबैलाई सम्मान हुने गरी अघि बढ्नु नै साँचो एकता हो।’

मन्त्री घिसिङसहित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच एकताको चर्चा चुलिएको समयमा घिसिङको यस्तो भनाइ आएको हो।

उनले जनताको भावना र चाहना नयाँ शक्तिहरू एकजुट भएको हेर्न चाहेकाले जनताको इच्छा नयाँ राजनीतिक शक्तिहरू एक होऊन् भन्ने भएकाले नयाँ शक्तिहरुले अहङ्कार त्यागेर साझा उद्देश्यका लागि एकताबद्ध हुनुपर्ने बताए।

उनले उज्यालो नेपाल पार्टीको पहिचान जनजीवनसँग जोडिएको बताउँदै घरमा बत्ती बाल्ने बित्तिकै ‘उज्यालो’ को अनुभूति हुने भएकाले त्यसैलाई पार्टीको सन्देशका रूपमा गाउँ–गाउँसम्म पुर्‍याउन कार्यकर्ताहरूलाई निर्देशन दिए।

‘घरमा बत्ती बल्यो भने उज्यालो हुन्छ, त्यही उज्यालोबाट उज्यालो नेपाल चिनिनुपर्छ,’ उनले भने।

Share
Scroll to Top