आइतबार निधन भएका गायक तथा अभिनेता प्रशान्त तामाङको मंगलबार अन्त्येष्टि गरिएको छ । उनको अन्त्येष्टि जन्मथलो दार्जिलिङको आलुबारीमा तिब्बती बौद्ध परम्पराअनुसार गरिएको फिल्मकर्मी राजेश घतानीले जनाएका छन् ।
प्रशान्तको पार्थिव शरीरलाई सोमबार अन्त्येष्टिका लागि जन्मथलो दार्जिलिङ पुर्याइएर श्रद्धाञ्जली सभा पनि आयोजना गरिएको थियो । उनको अन्त्येष्टिमा पत्नी मार्था एली भावविह्वल देखिएकी थिइन् । त्यहाँ सयौँको सङ्ख्यामा नेपाली भाषीको उपस्थिति रहेको थियो ।
४३ वर्षको उमेरमा निधन भएका प्रशान्तले हिन्दी र नेपाली थुप्रै गीत गाएका छन् । उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायत आधा दर्जन नेपाली फिल्म पनि अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘लडाइँ पहिचानको’ मा देखिएका थिए ।
