विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक आज बसेको छ। ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बैठक बसेको हो।
गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक ललितपुरको कुपोन्डोलमा बसेको सहमहामन्त्री डा. डिला संग्रौला पन्तले जानकारी दिइन्। बैठक लगत्तै थापा नेतृत्वको टीम निर्वाचन आयोग पुगेर आधिकारिकता दावी गर्दै फर्किसकेको छ।
काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनले बुधबार मध्यरातमा थापालाई सभापतिमा सर्वसम्मत चयन गर्दै १६६ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको थियो।
पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन भएको थियो। विशेष महाधिवेशनले नयाँ कार्यसमिति बनाएपछि कांग्रेस विभाजित भएको हो।
संस्थापन पक्षले बुधबार केन्द्रीय कार्यसमिति बैठक राखेर दुवै महामन्त्री थापा र शर्मालाई अनुशासनको कारबाही गरेर पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरिएको घोषणा गरेको छ।
