नेपालमा पनि बंगलादेशको जस्तो चुनावी परिणाम आउने एमाले अध्यक्ष ओलीको दाबी

झापा — नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशको हालैको निर्वाचन परिणामबाट उत्साहित हुँदै नेपालमा पनि त्यस्तै नतिजा आउने दाबी गरेका छन्।

गृहजिल्ला झापा आउने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले बंगलादेशको चुनावी नतिजाको प्रसंग निकाल्दै नेपालमा पनि एमालेको पक्षमा सोहीअनुरूपको जनलहर आउने विश्वास व्यक्त गरे।

आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ को चुनावी अभियानमा सहभागी हुन आएका ओलीले देशको वर्तमान राजनीतिक परिस्थिति र आगामी निर्वाचनका बारेमा टिप्पणी गरे। उनले एमाले निर्वाचनका लागि पूर्ण रूपमा तयार भएर मैदानमा उत्रिएको स्पष्ट पारे।

यद्यपि, उनले अझै पनि निर्वाचनका लागि पूर्ण रूपमा ‘ढुक्क’ हुने वातावरण बनिनसकेको बताउँदै यस विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। ‘चुनाव हुने भयो भने हामी भाग लिन्छौँ, तर अझै पनि चुनावी वातावरणका बारेमा ठोकुवा गर्न सकिने अवस्था छैन,’ उनले भने।

अध्यक्ष ओली यतिबेला आफ्नो निर्वाचन क्षेत्रका टोल-टोलमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गर्ने अभियानमा छन्। यसअघि उनले कमल गाउँपालिका, गौरादह र गौरीगञ्जका विभिन्न स्थानमा पुगेर स्थानीयसँग छलफल गरिसकेका छन्। अबका भेटघाटहरू दमक नगर क्षेत्रमा केन्द्रित हुने र बढीभन्दा बढी मतदातासँग साक्षात्कार गर्ने उनको योजना रहेको छ।

Share
Scroll to Top