NRNA Poland र PIP बीच नेपाली श्रमिक अधिकार संरक्षणबारे महत्वपूर्ण बैठक

उदयराज गिरी :,पोल्याण्ड :पोल्याण्डस्थित नेपाली समुदायको प्रतिनिधि संस्था NRNA Poland र Państwowa Inspekcja Pracy (PIP) बीच नेपाली श्रमिकहरूको श्रम अधिकार संरक्षण तथा कानुनी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले महत्वपूर्ण बैठक सम्पन्न भएको छ।

उक्त जानकारी NRNA Poland ले दिएको हो। वार्सास्थित Główny Inspektorat Pracy मा सम्पन्न बैठकमा PIP का तर्फबाट
Pani Urszula Langer – Deputy Chief Labour Inspector,
Pani Beata Habryka – Director, Department of Employment Legality,
Pan Robert Jaworski – Deputy Director, Department of Employment Legality,
Pani Klaudyna Cwynar – Interpreter, International Cooperation Section
उपस्थित रहनुभएको थियो।
NRNA Poland का तर्फबाट
Rita Neupane – President,
Udaya Raj Giri – General Secretary, Pawan Khadka – Vice President प्रतिनिधित्व गर्नुभएको थियो।


श्रमिक गुनासोबारे छलफल
NRNA Poland ले केही दिनअघि पोल्याण्डस्थित नेपाली श्रमिकहरूलाई आफ्ना श्रमसम्बन्धी गुनासोहरू इमेल वा आधिकारिक Facebook पेजको inbox मार्फत पठाउन अनुरोध गरेको जनाएको छ। प्राप्त गुनासोहरूलाई संकलन गरी बैठकमा समग्र रूपमा प्रस्तुत गरिएको थियो।


उठाइएका प्रमुख विषयहरूमा लिखित श्रम सम्झौताको अभाव, तलब ढिलाइ वा अपूर्ण भुक्तानी, आवश्यक रोजगार कागजात नपाउनु, भाषागत अवरोधका कारण अधिकार नबुझ्नु तथा उजुरी गर्दा जागिर वा बसोबास अनुमतिमा असर पर्ने डर जस्ता समस्याहरू समावेश थिए।
PIP पक्षले गोप्य रूपमा उजुरी दिन सकिने कानुनी प्रावधान, श्रमिक संरक्षणसम्बन्धी व्यवस्था तथा प्रक्रियाबारे स्पष्ट जानकारी दिएको NRNA Poland ले जनाएको छ।


सहकार्य र आगामी योजना
बैठकमा श्रम अधिकारसम्बन्धी आधिकारिक सामग्री नेपाली भाषामा उपलब्ध गराउने, अनलाइन सचेतना कार्यक्रम सञ्चालन गर्ने, सुरक्षित उजुरी प्रक्रियाबारे सरल मार्गनिर्देशन तयार गर्ने तथा नियमित समन्वयलाई निरन्तरता दिने विषयमा सकारात्मक समझदारी भएको जनाइएको छ।
NRNA Poland ले आफू नेपाली श्रमिक र सम्बन्धित पोलिस निकायबीच पुलको रूपमा काम गर्दै आगामी दिनहरूमा आवश्यक जानकारी समुदायसम्म क्रमशः पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

Share
Scroll to Top