युक्रेनले रुसको राजधानी मस्कोमा भीषण ड्रोन आक्रमण गर्यो

युक्रेनले रूसको राजधानी मस्कोलाई लक्षित गर्दै ५०० भन्दा बढी ड्रोनमार्फत ठूलो आक्रमण गरेको छ। रूसी सरकारी सञ्चारमाध्यमका अनुसार पछिल्लो एक वर्षयताकै यो सबैभन्दा ठूलो हमला हो।

आक्रमणमा मस्को आसपास कम्तीमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार खिम्की क्षेत्रमा एक निजी घरमा ड्रोन खस्दा एक महिलाको मृत्यु भएको हो। अर्का एक व्यक्ति भग्नावशेषमा फसेका थिए।

त्यस्तै, मस्कोको उत्तरपूर्वी क्षेत्र मितिश्चीमा निर्माणाधीन घरमा ड्रोनको भग्नावशेष खस्दा दुई पुरुषको मृत्यु भएको बताइएको छ। मस्को क्षेत्रमा कुल १२ जना घाइते भएका छन्, जसमा तेल प्रशोधन केन्द्रमा कार्यरत मजदुरहरू पनि रहेका छन्।

रूसस्थित भारतीय दूतावासले पनि आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरेको छ। साथै तीन जना भारतीय नागरिक घाइते भएका जनाइएको छ।

युक्रेनको सुरक्षा सेवाले मस्को क्षेत्रका तेल पम्पिङ स्टेशन, तेल रिफाइनरी तथा रूसको सैन्य उद्योगलाई सेमिकन्डक्टर आपूर्ति गर्ने “एंग्स्ट्रोम” प्लान्टलाई निशाना बनाइएको जनाएको छ।

रूसी रक्षा मन्त्रालयले रातभर ५५६ युक्रेनी ड्रोन खसालिएको दाबी गरेको छ। मेयर सोब्यानिनका अनुसार मस्कोतर्फ गइरहेका १२० भन्दा बढी ड्रोन हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको थियो।

आक्रमणका कारण केही घरमा आगलागी भएको तथा पश्चिमी शहर इस्त्रामा आवासीय भवनमा क्षति पुगेको बताइएको छ। मस्कोको मुख्य विमानस्थल शेरेमेत्येभो क्षेत्रमा समेत ड्रोनका टुक्रा खसेका थिए, यद्यपि त्यहाँ ठूलो क्षति नभएको जनाइएको छ।

यसैबीच युक्रेनी वायुसेनाले रूसले पनि रातभर २८७ ड्रोनमार्फत युक्रेनमा हमला गरेको जनाएको छ। ड्निप्रोपेत्रोभ्स्क र जापोरिज्झिया क्षेत्रमा कम्तीमा नौ जना घाइते भएका छन्।

रूस–युक्रेन युद्ध थप चर्किंदै गएको अवस्थामा पछिल्लो ड्रोन हमलाले दुवै देशबीचको तनावलाई अझ गहिरो बनाएको विश्लेषण गरिएको छ।

Share
Scroll to Top