लिस्बन — नवलपुर समाज पोर्चुगलको आयोजनामा प्रवासमा नेपाली कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
“संगीतले जोड्छ मन, नवलपुरको पहिचान” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रम सेप्टेम्बर २८ तारिख सोमबार पोर्चुगलको राजधानी लिस्बनस्थित ‘लभ लिस्बन रेस्टुरेन्ट’ मा हुने आयोजकले जनाएको छ।
कार्यक्रममा नेपालका चर्चित राष्ट्रिय कलाकार सुनितामी परियार सहित अर्जुन सुनाम र अमृत कुमार को विशेष सांगीतिक प्रस्तुति रहनेछ। कलाकारहरूको प्रस्तुति, नेपाली मौलिक गीत–संगीत तथा सांस्कृतिक कार्यक्रमले प्रवासमा रहेका नेपालीलाई मनोरञ्जनसँगै आफ्नोपनको अनुभूति दिलाउने अपेक्षा गरिएको छ।
नवलपुर समाज पोर्चुगलका अध्यक्ष प्रेम बुढाप्रीतीका अनुसार प्रवासमा रहे पनि नेपाली मौलिक कला, संस्कृति, परम्परा र सांगीतिक पहिचानलाई जीवन्त राख्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
उनले भने, “विदेशमा रहेर पनि आफ्नो कला, संस्कृति र परम्परासँग जोडिनु हाम्रो दायित्व हो। यस्ता कार्यक्रमले नेपाली समुदायबीच आपसी सम्बन्ध र भाइचारा अझ मजबुत बनाउनुका साथै नयाँ पुस्तालाई समेत नेपाली संस्कृति र संगीतसँग जोड्न महत्वपूर्ण भूमिका खेल्छ।”
कार्यक्रममा नेपाली समुदायको उल्लेख्य सहभागिता रहने आयोजकको अपेक्षा छ। पोर्चुगलमा रहेका नेपालीहरूलाई एकै ठाउँमा भेला गराई संगीत, संस्कृति र आपसी सद्भावमार्फत नवलपुरको पहिचानलाई प्रवासमा अझ सशक्त रूपमा प्रस्तुत गर्ने लक्ष्य आयोजकले लिएको छ।
कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी नेपाली मौलिकता, सांस्कृतिक विविधता र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने साझा अवसरका रूपमा अघि बढाउने तयारी गरिएको आयोजकले जनाएको छ।
नवलपुर समाज पोर्चुगलले पोर्चुगलमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई नेपाली कला, संस्कृति र संगीतको उत्सवमा साथ दिन हार्दिक निमन्त्रणा गरेको छ।
