फ्रान्समा बढ्दो महँगी र इन्धनको मूल्यवृद्धिको विरोधमा शनिबार भएको ब्यापक प्रदर्शनमा करिब ८ लाख मानिस सडकमा उत्रिएका छन्। प्रदर्शनका क्रममा राजधानी पेरिसमा राष्ट्रपति भवन ‘एलिजे प्यालेस’बाट करिब ४०० मिटर मात्रै टाढा प्रदर्शनकारी र प्रहरीबीच तनाव सिर्जना हुँदा प्रदर्शनकारीहरु आगजनीमा उत्रिएका थिए।
फ्रान्स २४ का अनुसार प्रदर्शनका क्रममा देशभर करिब १२ हजार मानिस पक्राउ परेका छन्। लिमोज सहरमा भने नकाब लगाएका प्रदर्शनकारीले नगर भवनमा आगजनी गर्दा १४३ वर्ष पुरानो ऐतिहासिक भवन लगभग पूर्ण रूपमा ध्वस्त भएको छ।
देशका विभिन्न भागमा प्रदर्शनकारी र प्रहरीबीच झडप तथा तनावको अवस्था कायम रहेको छ। फ्रान्समा करिब एक महिनादेखि जारी यो आन्दोलनको सुरुवात विद्यालयका विद्यार्थीहरूको विरोधबाट भएको थियो। शिक्षाको अवस्था, शिक्षक तथा स्रोतसाधनको अभावविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलन क्रमशः व्यापक सामाजिक आन्दोलनमा परिणत भएको हो।
आन्दोलनकारीहरूले सरकारसमक्ष मुख्य रूपमा चारवटा माग अघि सारेका छन्। उनीहरूले वेतन तथा पेन्सन वृद्धि, बढ्दो महँगी नियन्त्रण, सरकारी सेवाको गुणस्तर सुधार तथा विद्यालयमा शिक्षकको अभाव र जीर्ण भवनको समस्या समाधान गर्न माग गरेका छन्।
एउटा विद्यालयबाट सुरु भएको आन्दोलन देशभर फैलियो
यो आन्दोलनको सुरुवात २१ सेप्टेम्बरमा पेरिसस्थित लाइसी सेन्ट–एक्सूपेरी विद्यालयका विद्यार्थीहरूले गरेका थिए। अत्यन्तै गरिब परिवारको बसोबास रहेको क्षेत्रमा रहेको उक्त विद्यालयमा शिक्षक र आवश्यक शैक्षिक स्रोतसाधनको अभाव थियो। विद्यार्थीहरूले यही समस्या समाधान गर्न माग गर्दै विरोध सुरु गरेका थिए।
२९ सेप्टेम्बरमा प्रशासनले विद्यालयमा थप कर्मचारी पठाएपछि त्यहाँको हडताल अन्त्य भयो। तर त्यतिबेलासम्म आन्दोलन अन्य क्षेत्रमा पनि फैलिसकेको थियो। केवल आठ दिनमै विद्यार्थीको आन्दोलन ४१० विद्यालयसम्म पुगेको थियो। त्यसपछि विश्वविद्यालयका विद्यार्थीसमेत आन्दोलनमा सहभागी भए। विद्यार्थीको मागमा उनीहरूका अभिभावक, शिक्षक तथा मजदुर संगठनहरूले पनि समर्थन जनाए।
५ अक्टोबरमा उत्तरी फ्रान्सको लेन्स सहरमा भएको प्रदर्शनका क्रममा प्रहरीको ग्रेनेडबाट १५ वर्षीय एक बालकको हातमा गम्भीर चोट लागेको थियो। चोट यति गम्भीर थियो कि उनको हात नै काट्नुपरेको थियो। उक्त घटनापछि प्रहरीको कडा कारबाहीविरुद्ध जनआक्रोश थप चर्किएको थियो। फ्रान्समा यसअघि विद्यालयका विद्यार्थीबाट सुरु भएका आन्दोलनमा यति ठूलो स्तरमा हिंसात्मक घटना देखिएको थिएन। हालसम्म देशभर भएका झडपमा २०० भन्दा बढी विद्यार्थी, विद्यालयका ८५ कर्मचारी र करिब ७०० प्रहरी घाइते भएका छन्।
यसबीच ६ हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा ठूलो संख्या नाबालिगहरूको रहेको बताइएको छ। उनीहरूमध्ये धेरैलाई पछि कुनै आरोप नलगाई रिहा गरिएको थियो।
पसलमा लुटपाट, विभिन्न सहरमा आगजनी
प्रदर्शनका क्रममा र त्यसपछि युवाहरूका समूह सडकमा देखिएका थिए। कतिपय स्थानमा उनीहरूको प्रहरीसँग झडप भयो भने केही ठाउँमा आगजनी र तोडफोडसमेत भएको छ। बन्द रहेका पसलमा प्रवेश गरी सामान लुटपाट गरिएका घटना पनि सार्वजनिक भएका छन्।
