लेखन र विचारमार्फत आफ्ना धारणा सार्वजनिक गरेकै आधारमा कसैलाई ज्यान मार्ने धम्की दिनु सभ्य समाज र लोकतान्त्रिक मूल्य–मान्यताविपरीतको कार्य हो।
विचारसँग असहमति हुन सक्छ, तर त्यसको जवाफ धम्की, डर र हिंसाबाट दिनु कुनै पनि अवस्थामा स्वीकार्य हुन सक्दैन।
नेपाल पत्रकार महासंघ युरोप शाखाले पत्रकार तथा लेखक दिलनिशानी मगरलाई लेखेकै आधारमा ज्यान मार्ने अभिव्यक्ति दिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै कडा निन्दा तथा भर्त्सना गरेको छ।
महासंघले पत्रकार र लेखकले निर्भीक रूपमा आफ्ना विचार राख्न पाउने अधिकारको सम्मान हुनुपर्ने धारणा राख्दै यस्ता धम्कीपूर्ण गतिविधि तत्काल बन्द गर्नुपर्नेमा जोड दिएको छ।
लोकतान्त्रिक समाजमा विचारको प्रतिवाद विचारबाटै हुनुपर्छ। लेखन, अभिव्यक्ति र आलोचनात्मक चेतलाई धम्कीमार्फत दबाउने प्रयासले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर चुनौती खडा गर्ने देखिन्छ।

पत्रकार र लेखकको सुरक्षा सुनिश्चित गर्नु राज्य तथा सम्बन्धित निकायको दायित्व हो। घटनाको निष्पक्ष छानबिन गरी धम्की दिने व्यक्तिहरूको पहिचान र कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरिएको छ।
