महँगिँदो आवास र चर्को भाडाविरुद्ध पोर्चुगलभरि जनआक्रोश, ३० भन्दा बढी सहरमा हजारौँ नागरिक सडकमा

पोर्चुगलमा चर्किंदै गएको घरभाडा, महँगो आवास र सर्वसाधारणको घट्दो क्रयशक्तिविरुद्ध नागरिकहरू सडकमा उत्रिएका छन्।

नोभेम्बर १४ मा राजधानी लिस्बनसहित ३० भन्दा बढी सहरमा हजारौँ नागरिकले प्रदर्शन गर्दै सरकारसँग तत्काल आवास नीति सुधार गर्न माग गरेका छन्।


प्रदर्शनमा युवा, विद्यार्थी, श्रमिक तथा विभिन्न समुदायका नागरिकको सहभागिता रहेको थियो। उनीहरूले आवासलाई व्यापारको वस्तु मात्र नभई नागरिकको आधारभूत अधिकारका रूपमा सुनिश्चित गर्नुपर्ने आवाज उठाएका छन्।


विशेषगरी लिस्बन र पोर्तोमा बढ्दो घरभाडाले न्यून तथा मध्यम आय भएका परिवार र आप्रवासी समुदायलाई समेत गम्भीर आर्थिक दबाबमा पारेको छ।


सरकारले आवास समस्या समाधानका

लागि विभिन्न योजना अघि सारे पनि तत्काल राहत नपाएको भन्दै प्रदर्शनकारीहरू असन्तुष्ट छन्।
पोर्चुगलको पछिल्लो आन्दोलनले एउटा गम्भीर प्रश्न उठाएको छ— आफ्नै श्रम र आम्दानीले नागरिकले सुरक्षित आवाससमेत प्राप्त गर्न नसक्ने अवस्था कहिलेसम्म रहने?

Share
Scroll to Top