सत्तारुढ दल नेकपा एमालेले राजनीतिक स्थायित्व खलबल्याउन सक्रिय पक्षहरू कमजोर हुँदै गएको निष्कर्ष निकालेको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
‘मुलुक मुलतः राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अघि बढेको छ । यसलाई खलबल्याउन विभिन्न पक्ष क्रियाशील भइरहेका छन्,’ उनले भने, ‘तर, उनीहरूको प्रयास कमजोर हुँदै गएको निष्कर्ष बैठकले निकालेको छ ।’
बैठकले नीति तथा कार्यक्रम चुस्त, व्यवस्थित र दिशानिर्देशको हिसाबले सही रहेको बैठकले निष्कर्ष पनि निकालेको छ । ‘नीति कार्यक्रमले भनेजस्तै ठोस र परिणाममुखी होस् । विगतमा योजनाहरूको छनोट, श्रोतहरूको विन्यासमा भद्रगोल देखिएको छ’, ज्ञवालीले भने, ‘सङ्घ सरकारसँग १८ हजार योजनाहरू छन् र खर्बौ रुपैयाँको दायित्व रहने गरी ठेक्कापट्टा लगाउने अव्यवस्था चिरियोस् भन्नेमा नेताहरूले जोड दिनुभएको छ ।’
त्यस्तै बजेटले उत्पादन र उत्पादकत्वमा फोकस गर्नुपर्ने र त्यसका लागि पुष्पलाल मध्य पहाडी, मदन भण्डारी, हुलाकी राजमार्गका समानान्तर पकेट क्षेत्र निर्माण गरेर कृषि क्षेत्रको आत्मनिर्भर हुने गरी बजेट आओस् भन्ने पनि नेताहरूले सुझाव दिएका छन् । त्यस्तै जिएनजी पुस्तालाई केन्द्रमा राखेर उनीहरूसँग बसेर सूचना प्रविधिलाई उत्तोलकका रूपमा अघि बढाउने गरी बजेट आउनुपर्ने सुझाव आएको ज्ञवालीको भनाई छ।
