उदयराज गिरी वार्सा,पोल्याण्ड:Pandav Events को आयोजनामा पोल्याण्डको वार्सामा 1974AD को विशेष लाइभ कन्सर्ट हुने भएको छ।नेपालको चर्चित र लोकप्रिय रक ब्यान्ड 1974 AD को प्रस्तुतिलाई लिएर युरोपमा रहेका नेपाली संगीतप्रेमीहरूका लागि विशेष खुशीको खबर आएको छ। खासगरी पोल्याण्डको वार्सा कन्सर्टले तात्ने भएको छ।
आयोजकले सामाजिक सञ्जालमार्फत “Europe Tour” अन्तर्गत वार्सवमा कन्सर्ट हुने जानकारी सार्वजनिक गरिसकेको छ। उक्त कार्यक्रमलाई लिएर यहाँ रहेका नेपाली समुदायबीच उत्साह बढ्दो क्रममा देखिएको छ।
हालसम्म कन्सर्टको ठ्याक्कै मिति र समय भने सार्वजनिक गरिएको छैन, तर summer भित्रै आयोजना हुने निश्चित भइसकेको आयोजक पक्षले जनाएको छ।
1974 AD नेपाली संगीत क्षेत्रमा अत्यन्त लोकप्रिय ब्यान्ड हो, जसले रक, फोक, ब्लुज र फ्यूजन शैलीमा संगीत प्रस्तुत गर्दै दशकौँदेखि दर्शकको मन जित्दै आएको छ।
वार्सवमा हुने यो कन्सर्टले पोल्याण्ड तथा युरोपभर रहेका नेपालीहरूलाई प्रत्यक्ष रूपमा आफ्नो मनपर्ने गीतहरू सुन्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै, यस्तो अन्तर्राष्ट्रिय सांगीतिक कार्यक्रमले नेपाली कला र संस्कृतिलाई विश्वमाझ अझ चिनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।
कार्यक्रमको विस्तृत विवरण, टिकट जानकारी तथा स्थान सम्बन्धी सूचना छिट्टै सार्वजनिक गरिने जनाइएको छ।
