मध्यपूर्वमा चर्किंदै गएको युद्धले युक्रेनलाई अन्तर्राष्ट्रिय प्राथमिकताबाट पछाडि धकेल्न सक्ने चिन्ता युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले व्यक्त गरेका छन् ।
उनका अनुसार इरान केन्द्रित अमेरिकी–इजरायली सैन्य संलग्नता लम्बिँदै जाँदा वासिङ्टनको ध्यान विभाजित भइरहेको छ, जसले युक्रेनका लागि आवश्यक सैन्य सहयोग अझ कमजोर हुनसक्ने सङ्केत देखिएको छ ।
इस्तानबुलमा एसोसिएटेड प्रेससँग शनिबार राति भएको विशेष अन्तर्वार्तामा जेलेन्स्कीले स्पष्ट रूपमा भने, “हामीले स्वीकार्नुपर्छ कि हामी अहिले प्राथमिकतामा छैनौँ ।” उनले लामो समयसम्म इरानसँगको युद्ध जारी रहे युक्रेनले पाउने सहयोग झन् घट्ने डर व्यक्त गरे ।
युक्रेनले रुसको निरन्तर आक्रमणको सामना गरिरहँदा विशेषगरी अमेरिकी ‘पेट्रियट’ हवाई रक्षा प्रणालीको आवश्यकता अत्यन्तै बढेको उनले बताए । यी प्रणालीहरू रूसी ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न महत्त्वपूर्ण मानिन्छन्, तर हालसम्म पर्याप्त सङ्ख्यामा उपलब्ध नभएको उनको गुनासो छ । “यदि इरान युद्ध चाँडै टुङ्गिएन भने हाम्रो लागि आउने सहायता प्याकेज झन् सानो हुँदै जानेछ”, उनले भने ।
चार वर्षअघि सुरु भएको रुसी आक्रमणपछि युक्रेनका सहरहरू निरन्तर निशानामा परिरहेका छन् । ऊर्जा पूर्वाधारमा आक्रमण हुँदा औद्योगिक उत्पादनमा अवरोध आएको छ भने जाडो मौसममा सर्वसाधारण आधारभूत सुविधाबाट समेत वञ्चित भएका छन् । हजारौँ नागरिकको ज्यान गएको यो द्वन्द्व अझै निर्णायक मोडमा पुग्न सकेको छैन।
