इरान– अमेरिका इजरायल युद्ध फैलिँदै

काठमाडौँ । अमेरिका र इजरायलसँग सुरु भएको युद्ध तीव्र बन्दै जाँदा इरानले बिहीबार इराकमा रहेका कुर्दिश समूहहरूमाथि आक्रमण गरेको जनाएको छ । तेहरानले ती समूहहरूलाई ‘पृथकतावादी गतिविधि’ नगर्न कडा चेतावनीसमेत दिएको छ । युद्ध विस्तार हुँदै जाँदा क्षेत्रीय सुरक्षा, ऊर्जा आपूर्ति र विश्व अर्थतन्त्रमा गम्भीर प्रभाव देखिन थालेको छ ।

इरानका सर्वोच्च नेतामाथि अमेरिका–इजरायलले गरेको आक्रमणपछि गत शनिबार सुरु भएको द्वन्द्व अहिले मध्यपूर्वका धेरै क्षेत्रमा फैलिएको छ । यसले विश्व बजारमा दबाब बढाएको, ऊर्जा आपूर्तिमा अवरोध सिर्जना गरेको र अन्तर्राष्ट्रिय यात्रामा समेत अव्यवस्था ल्याएको देखिएको छ ।

तेहरानले बिहीबार इराकमा आधारित कुर्दिश समूहहरूलाई लक्षित कारबाही गरेको जनाएको छ । इरानका अधिकारीहरूले ती समूहहरूले ‘क्रान्तिविरुद्ध गतिविधि’ गरिरहेको आरोप लगाएका छन् । केही रिपोर्टहरूमा अमेरिकाले कुर्दिश लडाकुहरूलाई इरानमा घुसपैठ गर्न हतियार उपलब्ध गराउन खोजेको दाबी गरिएको छ ।

निर्वासित इरानी कुर्दिश समूहका एक सदस्यको हत्या भएको आक्रमण पनि यिनै घटनाक्रमसँग सम्बन्धित भएको समूहका प्रतिनिधिले बताएका छन् ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अलि लारिजानीले पृथकतावादी गतिविधि सहन नसकिने चेतावनी दिए । उनले ‘पृथकतावादी समूहहरूले अहिलेको अवस्थालाई अवसर ठानेर कुनै कदम चाल्ने भूल नगर्न’ आग्रह गरे । सरकारले त्यस्तो गतिविधि कुनै हालतमा स्वीकार नगर्ने स्पष्ट समेत उनले पारेका छन् ।

बढ्दो द्वन्द्वले क्षेत्रीय शक्तिहरूलाई क्रमशः युद्धतर्फ तानिरहेको देखिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० की प्रमुख क्रिस्टालिना जर्जिवाले यो संकटले विश्व अर्थतन्त्रको लचिलोपनलाई ‘फेरि एक पटक परीक्षण’ गर्ने चेतावनी दिए।

इरानको एलिट रिभोलुसनरी गाड्र्सले होर्मुज जलडमरूमध्य बन्द गरिएको दाबी गरेको छ । विश्वको कच्चा तेलको झण्डै पाँचौँ भाग यही मार्गबाट पार हुने भएकाले यसको प्रभाव विश्व ऊर्जा बजारमा ठूलो हुनसक्ने विश्लेषण गरिएको छ । बजार विश्लेषक संस्था केप्लरका अनुसार तेल ट्याङ्करहरूको आवागमन करिब ९० प्रतिशतले घटेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य अमेरिकी अधिकारीहरूले युद्ध सुरु गर्ने निर्णय र यसको उद्देश्यबारे फरक–फरक व्याख्या दिएका छन् । कङ्ग्रेसको स्पष्ट स्वीकृतिबिना सुरु गरिएको सैन्य अभियान रोक्न अमेरिकी सिनेटमा प्रस्ताव पेश गरिएको थियो, तर बुधबार उक्त प्रस्ताव अस्वीकार भएको छ ।

यसबीच तेहरानमा पनि तनाव कायम छ । इरानी समाचार एजेन्सी तस्निमका अनुसार बिहीबार बिहान राजधानी तेहरानमा धेरै विस्फोटको आवाज सुनिएको छ र सुरक्षालाई सक्रिय बनाइएको छ । विस्फोटका प्रभावबारे तत्काल विस्तृत विवरण सार्वजनिक भएको छैन ।

इजरायलले भने तेहरानभरि ‘इरानी आतङ्कवादी शासनको पूर्वाधारविरुद्ध ठूलो आक्रमण अभियान’ सुरु गरिएको दाबी गरेको छ । त्यसअघि इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको थियो । जेरुसेलममा रहेका एएफपीका पत्रकारहरूले पनि विस्फोटको आवाज सुनेका थिए, तर तत्काल हताहतको पुष्टि भएको छैन । पछि इजरायली सेनाले नागरिकहरूलाई सुरक्षित स्थानबाट बाहिर निस्कन अनुमति दिएको जनाएको छ ।

लेबनानमा पनि द्वन्द्व चर्किएको छ । राज्य सञ्चालित राष्ट्रिय समाचार एजेन्सी ९एनएनए० का अनुसार बिहीबार बिहान दक्षिण बेरुतस्थित हिजबुल्लाहको गढमा दुई आक्रमण भएका छन्, जहाँबाट धुवाँ उठिरहेको दृश्य एएफपीटिभीले देखाएको छ ।

त्रिपोली नजिकको बेद्दावी नामक प्यालेस्टिनी शरणार्थी शिविरमा रहेको एउटा अपार्टमेन्टमा भएको आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको र एक जना घाइते भएको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै एनएनएले जनाएको छ । दक्षिण लेबनानमा सडकमा गुडिरहेको गाडीमा ड्रोन आक्रमण हुँदा तीन जनाको मृत्यु भएको पनि रिपोर्ट गरिएको छ, यद्यपि आक्रमण कसले गरेको हो भन्ने स्पष्ट भएको छैन ।

इजरायलले पछिल्ला यी आक्रमणहरूको तुरुन्त जिम्मेवारी लिएको छैन । तर हालैका दिनमा इजरायली कारबाहीमा कम्तीमा ७५ जनाको मृत्यु भएको र दशौँ हजार मानिस विस्थापित भएको बताइएको छ । इरान समर्थित हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गर्न थालेपछि लेबनान पनि द्वन्द्वमा तानिएको हो । अहिले इजरायली सेना सीमावर्ती सहरतर्फ अघि बढेका कारण व्यापक रूपमा बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

इरानले आफ्नो जवाफी आक्रमणमा खाडी क्षेत्रका अमेरिकी हित र ऊर्जा पूर्वाधारलाई लक्षित गरेको जनाएको छ । कतारले राजधानी दोहास्थित अमेरिकी दूतावास नजिक बस्ने बासिन्दाहरूलाई बिहीबार सुरक्षित स्थानतर्फ सार्न थालेको छ । कतारले यसअघि हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमण प्रयास विफल पारिएको जनाएको थियो ।

कतार सरकारले नागरिकलाई घरभित्र बस्न र अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन चेतावनी दिएको छ । युद्ध सुरु भएयता खाडी क्षेत्रका विभिन्न देशमा कम्तीमा १३ जनाको मृत्यु भएको छ, जसमा सात जना सर्वसाधारण रहेका छन् । मृतकमध्ये कुवेतकी ११ वर्षीया बालिका पनि रहेको बताइएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया र कतारले बुधबार इरानी क्षेप्यास्त्रहरू रोकेको बताएका छन् । तीमध्ये केही ड्रोनले साउदी अरेबियाको विशाल रास तनुरा तेल प्रशोधन केन्द्रलाई लक्षित गरेको बताइएको छ ।

टर्की पनि यस सङ्कटमा तानिएको देखिएको छ । इरानबाट प्रक्षेपण गरिएको एक क्षेप्यास्त्र टर्कीको हवाई क्षेत्रतर्फ अघि बढ्दा नाटोको हवाई रक्षा प्रणालीले त्यसलाई नष्ट गरेको टर्कीले जनाएको छ । एक टर्की अधिकारीका अनुसार उक्त क्षेप्यास्त्र साइप्रसस्थित बेलायती सैन्य आधारतर्फ लक्षित गरिएको देखिएको थियो । टर्कीले यस घटनाबारे स्पष्टीकरण माग्न इरानी राजदूतलाई बोलाएको छ ।

टर्कीका विदेशमन्त्रीले आफ्नो इरानी समकक्षीसँग कुरा गर्दै द्वन्द्वलाई अझ फैलाउने कुनै पनि कदमबाट टाढा रहन आग्रह गरेका छन् । यसबीच युद्ध समुद्री क्षेत्रमा पनि फैलिएको सङ्केत देखिएको छ ।

Share
Scroll to Top