लिस्बन । पोर्चुगलस्थित नेपाली राजदूतावासले क्रियाशील नेपाली पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ ।
आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सव तथा नयाँ वर्ष २०८३ को अवसरमा दूतावासले नेपाली सञ्चारकर्मीसँग अन्तरक्रिया गरेको हो ।
उक्त अवसरमा राजदूत, नियोग उपप्रमुखलगायतका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा दूतावासले एक वर्षको अवधिमा गरेका काम, सेवा प्रवाहको अवस्था तथा आगामी योजना सम्बन्धी विवरण प्रस्तुत गरेको थियो।
प्रस्तुत तथ्याङ्कअनुसार दूतावासले हालसम्म ५ हजार ७ सय ९६ राहदानी वितरण गरेको छ भने १ सय ९ यात्रा अनुमति पत्र जारी गरेको छ।
यसैगरी २३ हजार ७ सय ८९ प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण, ५ हजार ६ सय ५५ विभिन्न कागजात प्रमाणीकरण तथा ४ सय १४ अधिकृत वारेशनामा सम्बन्धी सेवा प्रदान गरिएको जानकारी दिइयो।
शव फिर्तीका २६ वटा घटनामा सहजीकरण गरिएको दूतावासले जनाएको छ।
दूतावासले समस्यामा परेका नेपालीहरूको उद्धार, हराएकाहरूको खोजी तथा मृत्यु भएका नेपालीको शव नेपाल पठाउने कार्यमा निरन्तर सहकार्य गरिरहेको पनि उल्लेख गरेको छ ।
कार्यक्रममा कूटनीतिक सम्बन्ध विस्तार, आर्थिक कूटनीति, पर्यटन प्रवर्द्धन र द्विपक्षीय सम्बन्ध मजबुत बनाउने विषयमा समेत छलफल भएको थियो ।
पोर्चुगिज सरकारी निकाय, कूटनीतिक नियोग तथा स्थानीय परराष्ट्र मन्त्रालयसँगको सहकार्य सुदृढ बन्दै गएको दूतावासले जनाएको छ।
प्रवासमा रहेर नेपाली पत्रकारितामा योगदान पुर्याएको भन्दै राईलाई ५०१ युरो नगद र कदर–पत्र प्रदान गरिएको हो । कदर–पत्रमा उनको नेतृत्व क्षमता र स्वतन्त्र पत्रकारिताप्रतिको प्रतिबद्धताको प्रशंसा गरिएको छ।
अन्तरक्रियामा सहभागी पत्रकारहरूले नेपालमा पोर्चुगिज कूटनीतिक नियोग स्थापनाको विषयमा जिज्ञासा राखेका थिए । राजदूतले यस सम्बन्धमा पहल जारी रहेको जानकारी दिएका थिए ।
त्यसैगरी, गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलभित्र देखिएको विभाजन अन्त्य गरी एकता कायम गर्न दूतावासले पहल गर्नुपर्ने माग पनि उठाइएको थियो।
कार्यक्रमको अन्त्यमा दूतावासले नेपाली समुदायलाई एकताबद्ध हुन, स्थानीय कानूनको पालना गर्न र आवश्यक परेमा दूतावाससँग सम्पर्क गर्न आग्रह गरेको थियो ।
