पोर्चुगलमा महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती भव्य रूपमा सम्पन्न, कृषि साहित्यमा विशेष विमर्श

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती भव्य रूपमा मनाइएको छ। ‘कृषि र साहित्य : माटोदेखि मानवतासम्म’ भन्ने मूल नाराका साथ पोर्चुगलको लिरियास्थित फ्रेस्की फार्ममा आयोजित कार्यक्रममा नेपाली तथा पोर्चुगिज समुदायका प्रतिनिधि, साहित्यकार, समाजसेवी, विभिन्न संघसंस्थाका पदाधिकारी र स्थानीय व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।

नेपाली राजदूतावास पोर्चुगलका उपनियोग प्रमुख रामबाबु नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लिरिया नगरपालिकाका मेयरका प्रतिनिधि तथा नगर पार्षद जोजे कुन्हा (José Cunha), प्रलेल्हास खेलकुद तथा सांस्कृतिक क्लबका अध्यक्ष मारिजा सेल्हो र गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय सल्लाहकार आरपी पन्त विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

त्यसैगरी कार्यक्रममा सांस्कृतिक क्लबकी एन्जेला सान्तोष, एनआरएनए पोर्चुगलकी अध्यक्ष दीपा काफ्ले, नेपाली जनसम्पर्क समिति पोर्चुगलका सभापति युवराज पन्थी, विश्व विनोद लमजुङ समाज पोर्चुगलका महासचिव, पाकिस्तानी समाजका अध्यक्ष जारक इस्लाम, इन्डियन समिति मारिना ग्राण्डअन्तर्गत शिव मन्दिरका अध्यक्ष रुपेन्द्र राणालगायत विभिन्न नेपाली तथा पोर्चुगिज संघसंस्था र समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा महाकवि देवकोटाको साहित्यिक व्यक्तित्व, सिर्जनात्मक क्षमता र विशेषगरी कृषि साहित्यमा उनको लेखन योगदानबारे चर्चा गरिएको थियो। अनेसास पोर्चुगलका सल्लाहकार तथा फ्रेस्की फार्मका सञ्चालक अर्जुन राउतले देवकोटाको साहित्यमा प्रकृति, माटो, श्रम, किसान र मानवीय संवेदनाले पारेको प्रभावबारे प्रकाश पार्दै साहित्यलाई जीवन र उत्पादनसँग जोड्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रमका अध्यक्ष तथा अनेसास पोर्चुगलका अध्यक्ष एनबी अन्जानले आफ्नो मन्तव्यमा महाकवि देवकोटाको साहित्यिक योगदानको चर्चा गर्दै कृषि साहित्यको महत्त्वमाथि विशेष प्रकाश पारे। उनले साहित्य र कृषि एकअर्काका परिपूरक भएको उल्लेख गर्दै माटो, प्रकृति, किसान, श्रम र उत्पादन नेपाली जीवन तथा साहित्यका आधारभूत विषय भएको बताए। कृषि केवल अन्न उत्पादन गर्ने माध्यम मात्र नभई सभ्यता, संस्कृति, जीवनदर्शन र मानवीय संवेदनासँग जोडिएको विषय भएको उनको भनाइ थियो। उनले साहित्यले किसानका दुःख, पसिना, संघर्ष, आशा र सपनालाई अभिव्यक्त गर्नुपर्नेमा जोड दिँदै कृषि क्षेत्रका वास्तविक कथा, अनुभव र सम्भावनालाई साहित्यमा स्थान दिनुपर्ने धारणा व्यक्त गरे। महाकवि देवकोटाका सिर्जनामा प्रकृति, मानवता र जीवनका विविध पक्ष सशक्त रूपमा अभिव्यक्त भएको उल्लेख गर्दै उनले देवकोटाको साहित्यिक चेतनालाई कृषि साहित्यसँग जोडेर नयाँ पुस्तामाझ पुर्‍याउनु आवश्यक रहेको बताए। साथै, प्रवासमा रहेर पनि माटो, कृषि र नेपाली पहिचानसँग जोडिएको साहित्यिक अभियानलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा नेपाली साहित्यका महान् स्रष्टा देवकोटासँगै पोर्चुगलका नोबेल पुरस्कार विजेता साहित्यकार जोजे सारामागो (José Saramago) लाई समेत श्रद्धासुमन अर्पण गरिएको थियो। दुवै साहित्यकारका तस्बिरमा माल्यार्पण गर्दै सुरु गरिएको कार्यक्रममा नेपाली र पोर्चुगिज साहित्यिक योगदानलाई सम्मान गर्दै दुई देशबीचको सांस्कृतिक तथा साहित्यिक सम्बन्धलाई थप प्रगाढ बनाउने सन्देश प्रवाह गरिएको थियो।

यस कार्यक्रमको विशेष पक्ष भनेको साहित्यिक उत्सवलाई औपचारिक सभाहलमा मात्र सीमित नराखी कृषि उत्पादन हुने भूमिमै आयोजना गर्नु थियो। सहभागीहरूले खेतबारीको माटो छोएर कृषि र साहित्यबीचको सम्बन्धलाई व्यवहारमै अनुभूत गरेका थिए। साहित्यले माटो, प्रकृति, श्रम र मानवताको कथा बोल्नुपर्छ भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमले प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनसँगै स्थानीय समुदायसँगको सहकार्यलाई समेत महत्त्व दिएको थियो।

कार्यक्रमको सञ्चालन सजु पौडेल बरालले गरेकी थिइन् भने अनेसास पोर्चुगलका उपाध्यक्ष सागर साहले स्वागत मन्तव्य राखेका थिए।

प्रवासको भूमिमा नेपाली साहित्यका शिखर व्यक्तित्व महाकवि देवकोटाको जन्मजयन्तीलाई कृषि, प्रकृति, संस्कृति र अन्तर्राष्ट्रिय साहित्यिक सम्बन्धसँग जोडेर मनाइनुले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको सहभागीहरूले बताए। साहित्य र कृषिबीचको सम्बन्धलाई व्यवहारमा जोड्दै माटो, श्रम, किसान र मानवताको सम्मान गर्ने सन्देश प्रवाह गर्न सफल यस कार्यक्रमले प्रवासमा नेपाली साहित्यिक गतिविधिलाई नयाँ आयाम दिएको छ।

Share
Scroll to Top