तिनकुने घटनाप्रति पूर्वराजाद्वारा दु:ख व्यक्त

पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका छन् । शाहले नयाँ वर्ष २०८२ को अवसरमा आइतबार भिडियो सन्देश जारी गर्दै तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले नागरिक स्वतन्त्रताभन्दा ठुलो अरु कुनै तन्त्र नहुने समेत बताएका छन् । वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने समेत शाहले बताएका छन् ।

‘केही दिनअघि जनप्रदर्शनमा जुनप्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लागेको छ,’ नयाँ वर्षको शुभकामना दिँदै जारी भिडिओ सन्देशमा पूर्वराजा शाहले उल्लेख गरेका छन्।

तीनकुने घटनाबारे प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहको धारणा मागिरहेका थिए। गत चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शनका क्रममा २ जनाको ज्यान जानुका साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए।

Share
Scroll to Top