दुर्लभ वायुमण्डलीय घटनाका कारण आइतबार स्पेन, पोर्तुगल, अन्डोरा र फ्रान्सको केही दक्षिणी भागमा व्यापक रुपमा विद्युत आपूर्ति अवरुद्ध भएको छ। लाखौँ मानिसहरू प्रभावित भएका छन् भने अस्पतालदेखि सार्वजनिक यातायात सेवा समेत प्रभावित भएका छन्।
विद्युत आपूर्तिको सञ्जाल व्यवस्थापन गर्ने पोर्तुगलको कम्पनी REN का अनुसार, स्पेनमा तापक्रममा आएको अचानक परिवर्तनका कारण उच्च भोल्टेज प्रसारण लाइनहरूमा अस्वाभाविक कम्पन उत्पन्न भयो। यसले युरोपेली ग्रिडमा समन्वय बिग्रिएर एकैसाथ ठूलो क्षेत्रमा विद्युत आपूर्ति बन्द गराएको हो।
अधिकारीहरूका अनुसार यो अवरोध कुनै साइबर आक्रमण वा आतंकवादी गतिविधिका कारण नभएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। साथै, फ्रान्सको विद्युत ट्रान्समिशन कम्पनी RTE ले आगलागीका कारण अवरोध भएको आशंकालाई समेत नकारेको छ।
विद्युत अवरोधका कारण स्पेनको म्याड्रिड, बार्सिलोना र भ्यालेन्सिया जस्ता प्रमुख शहरहरूमा मेट्रो सेवा ठप्प भएको थियो। ट्राफिक बत्तीहरू बन्द हुँदा सडक यातायात अव्यवस्थित बनेको छ। अस्पतालहरू आपतकालीन जनरेटरमार्फत सेवा दिइरहेका छन् भने मोबाइल नेटवर्क र डिजिटल भुक्तानी सेवा समेत प्रभावित भएका छन्।
पोर्तुगलको राजधानी लिस्बनमा पनि मेट्रो र रेल सेवा ठप्प रह्यो। विमानस्थलमा केही घण्टाका लागि उडानहरू अवरुद्ध भएका थिए भने राजधानीका विभिन्न स्थानमा ट्राफिक बत्ती बन्द हुँदा दैनिक जनजीवन प्रभावित भएको छ।
अन्डोरा र फ्रान्सको दक्षिणी क्षेत्रमा पनि केही घण्टाका लागि विद्युत आपूर्ति बन्द भएको थियो। यद्यपि, फ्रान्समा सेवा छिट्टै पुनःस्थापना गरिएको बताइएको छ।
विद्युत अवरोधपछि अधिकारीहरूको प्रयासमा क्रमशः सेवा पुनःस्थापना हुँदै गएको छ।
