किरात याक्थुङ चुम्लुङ पोर्चुगलको आयोजनामा लिम्बूवान विशेष बहस तथा सांस्कृतिक साँझ सम्पन्न

नवराज दुवाडी ,लिस्वन:युरोपभर रहेका याक्थुङ (लिम्बु) समुदायको सहभागिता रहेको पहिलो युरोपस्तरीय भेला पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ। किरात याक्थुङ चुम्लुङ (कियाचु) पोर्चुगलको आयोजनामा भएको दुई दिवसीय कार्यक्रममा ‘लिम्बुवान प्राज्ञिक बहस’ र सांस्कृतिक साँझको आयोजना गरिँदै तीन बुँदे लिस्बन घोषणापत्र समेत जारी गरिएको हो।

गत २७ र २८ जुलाईमा सम्पन्न कार्यक्रमको पहिलो दिन याक्थुङ समुदायको इतिहास, संस्कृति, राजनीतिक चेतना र प्रवासी अनुभवहरूबारे केन्द्रित बहस आयोजना गरिएको थियो। बहसमा पाँचजना वक्ताहरूले आ–आफ्ना विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। वरिष्ठ पत्रकार तथा इतिहासविद् राजकुमार दिक्पालले ‘लिम्बूहरूको ऐतिहासिक पक्ष: एक चर्चा’, विश्वास दीप तिगेलाले ‘राजनीतिमा याक्थुङको सहभागिता’ र प्रेमचन्द्र निङलेखूले ‘मुन्धुम भित्रका विविध पक्ष’ शीर्षकमा धारणा राखेका थिए।

WOW ! New Sportswear in the Market, Grab from here
त्यस्तै, किशोर सुब्बा लिम्बूले प्रवासी नेपाली कृषकहरूको सामूहिक अनुभव समेट्दै ‘Cardko Lãgi: A Collective Moral of Migrant Nepali Agriculture’ विषयमा प्रस्तुति दिएका थिए भने रोबर्ट लिम्बूले ‘From Autonomy to Landlessness: The Limbu Community in Historical and Global Perspective’ शीर्षकको शोधपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रमको सहजीकरण कियाचु पोर्चुगलका अध्यक्ष रुकमान केरुङले गरेका थिए। कार्यक्रममा युकेबाट एनआरएनए केन्द्रीय उपाध्यक्ष विश्वास दीप तिगेला, बेल्जियमका अध्यक्ष बदन योङहाँङ, र विभिन्न युरोपेली देशहरूबाट आएका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। प्राज्ञिक बहस नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगल तथा अन्य मातृ संस्थाहरूको सहकार्यमा सम्पन्न भएको हो।

घोषणापत्र र सांस्कृतिक कार्यक्रम

भेलाको समापनमा ‘लिस्बन घोषणापत्र’ जारी गर्दै याक्थुङ समुदायको हक, हित र पहिचानका विषयमा तीनवटा महत्वपूर्ण निर्णय गरियो। घोषणापत्र अनुसार अब प्रत्येक वर्ष युरोपस्तरीय याक्थुङ भेला आयोजना गरिनेछ, जसको संयोजन युरोपका विभिन्न मुलुकमा क्रियाशील कियाचु शाखाहरूका अध्यक्षहरूको समूहले गर्नेछ।

त्यस्तै, लिम्बुवान पुनःस्थापनाका पक्षमा सम्भव भएसम्म विविध कार्यक्रम सञ्चालन गरिनेछ र मुक्कुमलुङ अतिक्रमण विरुद्ध जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाइनेछ।

भेलाको दोस्रो दिन, अर्थात् २८ जुलाईमा, लिम्बू समुदायको महान चाड सिसेक्पा तङ्नाम–५०८५ को अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक साँझको आयोजना गरिएको थियो। ‘‘हाम्रो संस्कार, हाम्रो संस्कृति, हाम्रो पहिचान — नयाँ पुस्तामा हस्तान्तरण हाम्रो अभियान’’ भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा लिम्बू समुदायका कलाकारहरूले केलाङ, पालाम, च्याब्रुङ लगायतका मौलिक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो।

Share
Scroll to Top