भारी बर्षाका कारण नेपालका ४० जिल्ला उच्च जोखिममा ,सावधानी अपनाउन मौसम विभागद्वारा सूचना जारी

भारी बर्षाका कारण नेपालका ४० जिल्ला उच्च जोखिममा ,सावधानी अपनाउन मौसम विभागले सूचना जारी गरेको छ। जल तथा मौसम विज्ञान विभागले आज बेलुकादेखि भोलि बिहानसम्म अति भारी वर्षा हुने जनाएको छ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आयोजना गरेको बैठकमा जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमल राम जोशीले चार प्रदेशका तटीय क्षेत्र बाढीको उच्च जोखिममा पर्नसक्ने जानकारी दिएका हुन् । २४ घण्टामा २०० मिलिमिटर पानी पर्ने सम्भावना रहेको उनले बताए।

‘नेपालको मध्यभागबाट मनसुन प्रवेश गरेको छ। यसले विशेष गरेर आज बेलुका ७–८ बजेदेखि भोलि बिहान ८ बजेसम्म त्यसमा पनि विशेष गरी राति १० देखि बिहान २ बजेसम्म अतिभारी वर्षाको सम्भावना छ’, जोशीले ले भने, ‘त्यसकारण सबैलाई सचेत रहन बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा रहेका नदी किनारमा बस्ने बासिन्दा र यात्रुलाई सावधानी अपनाउन अनुरोध छ।’

विभागका अनुसार अविरल वर्षाले ४० जिल्ला बढी प्रभावित हुनेछन् । ती जिल्लामा बाढीपहिरोका साथै डुबान हुने सम्भावना छ ।विभागका अनुसार खासगरी बागमती र पूर्वी राप्ती नदीको वहाव उल्लेख्य बढ्ने देखिएकोले रेड अलर्ट नै जारी गरिएको छ।

सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लामा अतिउच्च जोखिमको सम्भावना रहने पूर्वानुमान छ।

त्यसैगरी इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलुढंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व र पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लाहरुमा उच्च जोखिमको सम्भचावना रहने पूर्वानुमान छ।

अन्य धेरै जिल्लाहरुमा एल्लो अलर्ट जारी गरिएको छ। भोलि कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेश हुँदै बग्ने केही ससाना नदीमा वहाव आकस्मिक बढ्नसक्ने पूर्वानुमान रहेको उनले बताए।

Share
Scroll to Top