तामाङ समाज पोर्चुगलको अधिवेशन पोर्चुगलको राजधानी लिस्वनमा हुने

तामाङ समाज पोर्चुगलको अधिवेशन यही नोभेम्बर २३ तारिख, आइतबारका दिन राजधानी लिस्बनको चर्चित आन्जुस जिनासियो हलमा भव्यताका साथ सम्पन्न हुने भएको छ ।

समाजले आफ्नो स्थापनाकाल देखि नै पोर्चुगलमा रहेका तामाङ समुदायलाई एकजुट गराउँदै विभिन्न सामाजिक र सांस्कृतिक गतिविधिहरु गर्दै आइरहेको छ । यसपटकको आठौं अधिवेशनका लागि समाजले “तामाङ भाषा, भेषभुषा, धर्म, कला, लिपि, संस्कार र संस्कृतिको प्रबन्धन र संरक्षण गरौं” भन्ने मूल नारा तय गरेको छ । यो नाराले प्रवासमा दोस्रो पुस्तामा हस्तान्तरण हुनुपर्ने मौलिक पहिचान र सांस्कृतिक महत्त्वलाई उजागर गरेको छ ।
आयोजकका अनुसार अधिवेशन लिस्बनको आन्जुसस्थित जिनासियो क्लबको हलमा हुनेछ । कार्यक्रमको औपचारिक सुरुवात दिउँसो ३:३० बजे हुने तय गरिएको छ ।

अधिवेशनमा समाजको विगतको कार्यकालको समीक्षा, आर्थिक प्रतिवेदन प्रस्तुति र आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने लगायतका महत्वपूर्ण विषयहरूमा छलफल हुने बताइएको छ । साथै, तामाङ समुदायको मौलिक सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप रौनक प्रदान गर्ने अपेक्षा गरिएको छ ।

तामाङ समाज पोर्चुगलले यस ऐतिहासिक आठौं अधिवेशनलाई भव्य र सभ्य रुपमा सफल पार्न पोर्चुगलमा क्रियाशील सम्पूर्ण संघ-संस्थाका प्रतिनिधिहरू, पत्रकार, बुद्धिजीवी, व्यवसायी तथा पोर्चुगलवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा गरिमामय उपस्थितिको लागि हार्दिक अपिल गरेको छ । विशेषगरी तामाङ ओसमुदायका सदस्यहरूलाई आफ्नो मौलिक भेषभुषामा सजिएर उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन समेत आयोजकले अनुरोध गरेको छ।

Share
Scroll to Top