काठमाडौं–५ बाट समाजशास्त्री कोमल पौडेलको स्वतन्त्र उम्मेदवारी’

समाजशास्त्री कोमल पौडेलले देश बढ्दो स्वास्थ्य संकट, असुरक्षित खाद्यान्न, बेरोजगारी, युवा पलायन र सामाजिक असुरक्षाबाट गुज्रिरहेको भन्दै काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी घोषणा गरेकी छन्।

उनले सार्वजनिक गरेका तथ्यांकअनुसार नेपालमा मुटु, कलेजो, मिर्गौला, प्यान्क्रियाजसम्बन्धी रोग, मधुमेह र क्यान्सरका बिरामी पछिल्ला वर्षहरूमा ७१ प्रतिशतले वृद्धि भएका छन्। त्यस्तै, विगत १० वर्षमा आत्महत्याको दर पनि झण्डै ७१ प्रतिशतले बढेको तथा करिब ३६ प्रतिशत नागरिक असुरक्षित खाद्यान्न सेवन गर्न बाध्य रहेको अवस्था छ।

“देशको अवस्था र जनताको दुःख, कष्ट र जोखिमपूर्ण जीवनलाई चुपचाप हेरेर बस्न सकिन,” पौडेलले भनिन्, “त्यसैले नीति निर्माण तहमा पुगेर समस्याको दीर्घकालीन समाधान खोज्ने उद्देश्यसहित उम्मेदवारी दिएको हुँ।”

युरोपमा अध्ययन सम्पन्न गरी फिनल्याण्डमा समुदाय विकास, समाज कल्याण र स्वास्थ्य सेवाको अनुभव हासिल गरेपछि नेपाल फर्किएर स्वयंसेवक रूपमा सेवा गर्दै आएकी पौडेलले जनताले सुरक्षित र स्वस्थ जीवन पाउन नीतिगत परिवर्तन अपरिहार्य रहेको बताइन्।

उनले सबै तहका नेतृत्व र नागरिक सजग, सक्षम र सक्रिय भएमा देशको वर्तमान अवस्था सुधार गर्न सकिने विश्वास व्यक्त गर्दै मोबाइल चुनाव चिह्नमा मतदान गर्न मतदातासँग आग्रह गरेकी छन्।

३० बुँदे प्रतिबद्धता सार्वजनिक

उम्मेदवार पौडेलले सडक तथा पूर्वाधार विकास, गुणस्तरीय स्वास्थ्य सेवा, सुरक्षित खाद्यान्न, व्यावसायिक शिक्षा, रोजगारी सिर्जना, सामाजिक तथा भौतिक सुरक्षा, भ्रष्टाचार नियन्त्रण, आर्थिक पारदर्शिता, मानव बेचबिखन नियन्त्रण, महिला, बालबालिका, जेष्ठ नागरिक र अपांगमैत्री नीति तथा दीगो विकासलाई प्राथमिकतामा राख्दै ३० बुँदे प्रतिबद्धता सार्वजनिक गरेकी छन्।

Share
Scroll to Top