रुससँग युद्ध लड्ने खर्च जुटाउन युक्रेनले देशमा वयस्क सामग्री (एडल्ट कन्टेन्ट) व्यापारलाई वैधानिक बनाउने र कर लगाउने विचार गरिरहेको छ।
द वाल स्ट्रिट जर्नलका अनुसार यो नीतिले युक्रेन सरकारलाई वर्षमा झन्डै २.५ करोड डलर अतिरिक्त आम्दानी हुन सक्छ। युक्रेनका एक सांसदका अनुसार यो रकमले झन्डै ३० हजार ड्रोन खरिद गर्न सकिन्छ।
युक्रेनमा पोर्नोग्राफी पूर्ण रूपमा वैधानिक छैन। यसलाई वैधानिक बनाउने उद्देश्य सरकारी राजस्व बढाउनु मात्र नभएर भ्रष्टाचार रोक्नु पनि रहेको दाबी गरिएको छ। प्रस्तावका समर्थकहरूको तर्क के छ भने यसले प्रहरीलाई वयस्क सामग्रीसँग सम्बन्धित मुद्दाको सट्टा गम्भीर अपराधमा बढी ध्यान केन्द्रित गर्ने मौका मिल्नेछ।
हाल युक्रेनमा यो व्यवसायको ठुलो हिस्सा कानुनी कारबाहीको डरले गोप्य रूपमा सञ्चालन भइरहेको छ।
युक्रेनको संसद्ले जुलाईमा आफ्नो पहिलो पठनमा विधेयकलाई अनुमोदन गरेको थियो। अब यो दोस्रो पठनका लागि पेस गर्नुपर्नेछ। पहिलो पठनमा २३१ सांसदले विधेयकका पक्षमा मतदान गरेका छन् भने ८ जनाले मात्र विरोध गरेका छन्। तीन सांसरूले भने मतदान गरेनन्।
युक्रेनमा वयस्क सामग्रीको अनलाइन कारोबार द्रुत गतिमा बढेको छ। विशेष गरी ओन्लीफ्यान्सजस्ता प्लाटफर्ममा ठुलो संख्यामा युक्रेनी क्रिएटर्स काम गरिरहेका छन्।
द वाल स्ट्रिट जर्नलका अनुसार २०२३ मा लगभग ८ हजार युक्रेनीले ओन्लीफ्यान्सबाट १३१ मिलियन डलरभन्दा बढी कमाएका थिए। यसले सम्पूर्ण वयस्क-सामग्री व्यवसायको होइन, केवल ओन्लीफ्यान्सबाट हुने आम्दानीको प्रतिनिधित्व गर्छ।
हाल युक्रेनी कानुनले अश्लील सामग्री निर्माण र वितरणलाई गैरकानुनी मान्छ। त्यसैले यसका उत्पादकहरूलाई कर तिर्न गाह्रो छ।
