क्रिस्टियानो रोनाल्डोले जोर्जे जेसुस पोर्चुगलको प्रशिक्षक रहुन्जेल राष्ट्रिय टोलीमा फर्किन अस्वीकार गर्ने बताइएको छ।
जेसुसले आइतबार राति रोनाल्डोलाई अर्को अन्तर्राष्ट्रिय ब्रेकमा टोलीमा फर्कन स्वागत गर्ने बताएका थिए। यसअघि जारी अन्तर्राष्ट्रिय खेलमा रोनाल्डोले रिसाउँदै टोली छाडेका थिए।
सेप्टेम्बर २७ मा नर्वेविरुद्धको खेलमा रोनाल्डोलाई बेन्चमा राखिएको थियो। उनको १८ वर्षे अन्तर्राष्ट्रिय करियरमा पहिलोपटक उनी मैदानमा नउत्री बेन्चमै बसेका थिए। त्यसपछि उनी निकै आक्रोशित बनेका थिए।
त्यसको प्रभावस्वरूप रोनाल्डोले पोर्चुगलका तीन प्रशिक्षण सत्र गुमाए र अन्तर्राष्ट्रिय ब्रेकका अन्तिम दुई खेलअघि नै टोलीको क्याम्प छाडेर निजी विमानमार्फत स्पेन पुगेका थिए।
रोनाल्डोको पुनरागमन सम्भव देखिन थालेको थियो। जेसुस स्वयं र टोलीका केही खेलाडीले उनलाई फर्काउन आफूहरू तयार रहेको संकेत दिएका थिए। तर, पोर्चुगिज पत्रकार रुई सान्तोसले रोनाल्डो जेसुस प्रशिक्षक रहुन्जेल राष्ट्रिय टोलीमा नफर्किने दाबी गरेका छन्।
सान्तोसले सीएनएन पोर्चुगलसँग भने– उनले कथित रूपमा आफू राष्ट्रिय टोलीमा फर्कने छैनन् भनेर स्पष्ट पारेका छन्, कम्तीमा जोर्जे जेसुस प्राविधिक जिम्मेवारीमा रहुन्जेल। यो सम्पूर्ण प्रक्रियालाई जसरी व्यवस्थापन गरिएको छ, त्यसबाट उनी बिल्कुलै सन्तुष्ट छैनन्। विशेषगरी मुख्य प्रशिक्षक जोर्जे जेसुसले दिएका अभिव्यक्तिले उनलाई निकै आक्रोशित बनाएको छ।
सान्तोसका अनुसार रोनाल्डोले जेसुसका विरोधाभासी भनाइप्रति विश्वास गुमाएका छन्। एकातर्फ जेसुसले रोनाल्डोलाई फर्काएर नेसन्स लिगमा सहभागी गराउन चाहेको बताइरहेका छन् भने अर्कोतर्फ आफूले खेलाडी छनोट गर्ने अधिकार प्रयोग गर्ने र “माफी माग्न यहाँ आएको होइन” भन्ने अभिव्यक्ति दिएका छन्।
यससँगै रोनाल्डो र जेसुसबीचको विवादले पोर्चुगलको राष्ट्रिय टोलीमा ठूलो तनावको रूप लिएको देखिएको छ।
