नवराज दुवाडी ,लिस्वन:धादिङ समाज पोर्चुगलको नयाँ नेतृत्वमा रामचन्द्र घिमिरे चयन भएका छन्। हिजो सम्पन्न प्रथम अधिवेशनले रामचन्द्र घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो।
एनआरएनए पोर्चुगलका पूर्वअध्यक्ष तथा धादिङ समाज पोर्चुगलका संरक्षक रविन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको सभापतित्व समाजका अध्यक्ष कुमार तामाङले गरेका थिए । कार्यक्रम सञ्चालन महासचिव नवराज दुवाडीले गरेका थिए । कार्यक्रममा एनआरएनए पोर्चुगलकी पूर्व महिला संयोजक सीता ढकाल लगायतको उपस्थिति थियो ।
अधिवेशनबाट रमेश सुनार उपाध्यक्ष, शम्भु सुनार महासचिव, पत्रकार एवं युरोपाटीका अध्यक्ष पुस्तक रेग्मी सचिव र विजय बुढाथोकी कोषाध्यक्षमा चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा सन्तोष तामाङ, सुजन कुँवर, मन्दिरा कोइराला, राम ईश्वर थापा मगर, सुरेन्द्र पाठक, अकलबहादुर थापा मगर, राजु भट्ट, सरोज बुढाथोकी, शम्भु प्रसाद उप्रेती, विष्णु गिरी, विनोद सापकोटा, राजन सिटौला र सानुबाबु तिमल्सिना चयन भएका छन् ।
अधिवेशनको बन्दसत्रमा महासचिवले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन, कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा विधान संशोधनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरिएको थियो । निर्वाचन संयोजक वीरेन्द्र गुरुङको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले समाजको आगामी कार्यकाल सफल र उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्दै विगतमा संस्थाका लागि योगदान पुर्याउने निवर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गरे । समाजको हित र विकासका लागि आफू सधैं अग्रस्थानमा रहेर सहयोग गर्न तयार रहेको पनि उनले बताए ।
अधिवेशनका क्रममा निवर्तमान कार्यसमितिका सम्पूर्ण पदाधिकारी, संरक्षक तथा सदस्यहरूले संस्थाको विकासमा पुर्याएको योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गरिएको थियो ।
नयाँ कार्यसमितिले पोर्चुगलमा रहेका धादिङवासी नेपालीबीच आपसी एकता, सद्भाव र सहकार्यलाई थप मजबुत बनाउँदै सामाजिक सेवा, आपसी सहयोग तथा नेपाली कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
