
रासस: समाजसेवा र राजनीतिसँगै व्यावसायिक कृषि कर्ममा पनि सफल भएका छन् तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित। व्यावसाय र राजनितिक क्षेत्रमा सफल मानिने नगर प्रमुख पण्डित व्यावसायिक कृषि कर्ममा लागेका छन्।
उनले म्याग्दे गाउँपालिका–४ मा १० रोपनीभन्दा बढी क्षेत्रफल जमिनमा कागती खेती गरेका छन् । चाहना र समय व्यवस्थापन गर्न सके हरेक क्षेत्रबाट उत्पादन तथा आम्दानी लिन सकिने उनको बुझाई छ। उनी हरेक बिहान कागती गोडमेल र रेखदेखका लागि केही समय छुट्याएर बारीमा पुग्ने गर्छन्। स्वास्थ्यका लागि समेत बिहान सबेरै उठेर बिरुवाको गोडमेल गर्न उपयुक्त हुने उनी बताउँछन्।
उनी भन्छन्, “हाल एक हजारभन्दा बढी कागतीका बोटले फल दिन सुरु गरेको छ।” घरायसी प्रयोगका लागि प्रशस्तै पुग्ने भए पनि आगामी वर्षबाट व्यावसायिक रुपमा उत्पादन हुने उनी बताउँछन्।
“आगामी वर्षबाट बजार पठाउने कागती उत्पादन हुनेछ”, उनी भन्छन्, “एक सिजनमा १५–२० हजार किलो कागती उत्पादन हुन्छ।” भुगोल र माटो सुहाउँदो खेती गरेकाले बादर लगायतका जङ्गली जनावरले समेत क्षति पुर्याउन नसक्ने र बाँझिएको जमिनको उपयोग हुने नगर प्रमुख पण्डितको भनाइ छ।
पृथ्वी राजमार्गबाट छोटो दुरीमा रहेको जमिनमा सामाजिक व्यक्तित्वले कृषि खेती गर्दा युवालाई कृषितर्फ प्रोत्साहन गर्न सकिने उनको बुझाइ छ। सामाजिक व्यक्तित्वले कागजी खेती गरेपछि अन्यलाई समेत यस प्रतिको प्रेरणा मिलेको छ। सामान्यतया कोदो, मकै लगायतका खाद्यान्न लगाउँदा जङ्गली जनावरले क्षति पुर्याएको भनेर बाँझिदै गएको जमिनमा कागती खेती गरिएको हो।