विप्लव काफ्ले ,स्पेन: आलिकान्तेको बेनिड्रोममा दुई दिन चलेको राहदानी घुम्ती शिविरबाट नेपालीले सहजै सेवा पाउँदा खुशी भएका छन्। पहिलो दिन १ सय ७५, दोस्रो दिन ७७ जनाले सेवा लिएका थिए।
नेपाली राजदूतावास, म्याड्रिड स्पेनले राहदानी विभागसँगको समन्वयमा गरेको शिविरलाई नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्का, एनआरएनए कोष्टाव्लाङ्काले सहजीकरण गरेका थिए।
काल्पे, आल्तेया, कास्पे, आल्भिर, खाबिया, डेनिया, आलिकान्ते, मुर्सिया, टोरटोसा लगायत क्षेत्रमा बस्ने नेपालीहरु आएर सेवा लिएका थिए। राहदानी (पासपोर्ट) बनाउन म्याड्रिड जाने-आउने खर्च र समय बचत हुदा सेवाग्राही उत्साहित थिए। दूतावासबाट द्वितीय सचिव पुरक अधिकारी, सहचारी विपिन चन्द, लक्ष्मण शर्मा, विभागकि ज्योत्सना काफ्ले सहितको टोलिले सेवा प्रवाह गरेको थियो।
शिविर संयोजक असिम लोप्चनले उल्लेख्य सहभागीता सहित शिविर सफल बनेको बताए । ´घरदैलोमै सेवा पाएको प्रतिक्रिया सबैले दिनुभयो, उनले भने, ´छिटोछरितो सेवा लिदा सबै खुशी भए।
समाजका महासचिव विजय कुँवरले हालसम्मकै व्यवस्थित शिवर हुन पुगेको बताए । ´गुनासो रहित शिविर बन्यो, टोकन सिस्टमले सहज भयो, उनले भने, ´बायोमेट्रिक दिएर अधिकाँस उहीँ दिन काममा जान पाए। एनआरएनए कोष्टाव्लाङ्का अध्यक्ष सुरेश बज्राचार्यले शिविरले धेरैको समय र खर्च बचत भएको बताए।
´कामबाट विदा लिएर घण्टौँ यात्रामा म्याड्रिड पुग्नुपरेन, नजिकै सेवा पाए, उनले भने, ´क्षेत्रगत वर्षेनी शिविरहरु हुनुपर्छ भन्ने सन्देश पनि हो। समाजका संरक्षक स्मृति गौतमले हेल्प डेस्कमा समाज र एनआरएनए पनि सक्रियहुदा शिवीर व्यवस्थित हुन पुगेको बताइन्। 
समाजका अध्यक्ष केसरबहादुर थापाले शिविर सञ्चालन गरेकोमा राजदूतावासलाई धन्यवाद दिए । एनआरएनए स्पेनमा उपमहासचिव केशवराज कँडेलले निरन्तरको प्रयासमा छोटो अवधिमै शिविर आयोजना भएपनि उल्लेख्य सहभागीता हुन पुगेको बताए।
´शिविर यसपालि ऐतिहासिक रह्यो, सेवाग्राहीले कुनैपनि फजुल खर्च गर्नुपरेन, उनले भने, ´आगामी दिनमा पनि यस्तै व्यवस्थित शिविर हुनेछन्। राजदूतावासको टोलिले छिटोछरितो राहदानी सेवा दिदा सेवाग्राहीहरु प्रफुल्लित भएका थिए । २ सय ५२ जनाले राहदानीका लागि बायोमेट्रिक दिएका थिए।
