नेतृत्वको मनोमानीका कारण रास्वपा छोडेको सुमनाको दाबी

सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेको घोषणा गरेकी छन् । उनले कार्यकर्तालाई नेताको पूजा नगर्न समेत अपिल गरेकी छन् । रास्वपाले देशभन्दा पार्टी, अनि पार्टीलाई भन्दा नेतालाई माथि राख्ने गरेको भन्दै पार्टी छोडेको घोषणा गरेकी हुन् ।


उनको सचिवालयले जारी गरेको सन्देशमा भनिएको छ, ‘पार्टीभित्र आलोचना गर्नेका विरुद्ध मिडिया ट्रायल गर्ने। जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा पार्टी र पार्टीभन्दा नेतालाई माथि राख्न थालेको हो, त्यही बेलादेखि नै आलोचना गर्दै आएकी हुँ।

तर त्यसले कत्ति फरक पारेन। अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो। यो स्वीकार्य छैन।’ सुमना थप्छिन्, ‘अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएकी छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला। आइ क्विट, मैले पार्टी छोडेँ।’

उनले कांग्रेस, एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेतालाई सके नेतृत्वलाई हटाउन सके पार्टी छोड्न सुझाव दिएकी छन् ।

उनले थप भनिन्, ‘कांग्रेस, एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेता पनि यो सोच्नुस्। आजको परिस्थिति आउन तपाईंको भन्दा बढी तपाईंको नेतृत्वको बहरियापनले हो। त्यो किन बोकेर बस्नुहुन्छ? अहिले सही समय आएको छ। आफ्ना नेतालाई पूजा गर्न बन्द गर्नुस्। कि हटाउनुस्, कि हट्नुस्।’ उनले एउटाको गल्तीको भार सबैलाई बोकाउन खोजिएको तर्क पनि गरेकी छिन्।

Share
Scroll to Top